११ चैत,काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले दर्तावाला चिकित्सकहरूलाई आफ्नो दर्ता प्रमाणपत्र आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्न निर्देशन दिएको छ।
काउन्सिलका अनुसार चिकित्सकहरूले आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट राख्दा सर्वसाधारणमा भ्रम उत्पन्न हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने जोखिम बढाउँछ।
काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देव ले केही अवस्थामा चिकित्सकको नाम र दर्ता नम्बर कार्यरत नभएका संस्थामा समेत प्रयोग भइरहेको पाइएको बताए। यसले बिरामीहरूलाई गलत सन्देश दिने, सेवा प्रदायकको पहिचानमा अन्योल सिर्जना गर्ने तथा स्वास्थ्य सेवाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने उनको भनाइ छ।
यस्ता गतिविधिले भविष्यमा कानुनी तथा प्रशासनिक जटिलता निम्त्याउन सक्ने चेतावनी दिँदै काउन्सिलले चिकित्सकहरूलाई सचेत गराएको छ। साथै, आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
काउन्सिलको सूचनाअनुसार चिकित्सकहरूले आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर तत्काल हटाउनुपर्नेछ। साइनबोर्ड, विज्ञापन सामग्री तथा दर्ता पुस्तकहरूमा आफ्नो विवरण सही रूपमा प्रयोग भएको छ कि छैन भन्ने विषयमा नियमित निगरानी गर्न पनि निर्देशन दिइएको छ।
डा. देवले चिकित्सकहरूलाई व्यावसायिक नैतिकता कायम राख्दै जिम्मेवार ढंगले आफ्ना विवरण प्रयोग गर्न अनुरोध गरेका छन्।


















