Logo

१४ चैत, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार एवं नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

फागुन २१ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका ४६ वर्षीय चौधरीको गाडीबाट शंकास्पद वस्तु फेला परेको अभियोगमा अदालतले बिहीबार यस्तो फैसला सुनाएको हो ।

जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलासले थुनछेक बहसपछि चौधरीलाई कारागार चलान गर्न आदेश दिएको हो । उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ। अदालतले पर्सागढीका ६७ वर्षीय सत्यनारायण दास थारू र धनुषाका ३० वर्षीय सुरज कार्कीलाई जनही १ लाख ५० हजार तथा सवारी चालक सहाब आलम अन्सारीलाई २ लाख रुपैयाँ धरौटी तोकेको छ । धरौटी बुझाउन नसकेपछि थारू र अन्सारी पनि हाललाई थुनामै रहेका छन् ।

प्रहरीले गत फागुन १९ गते बा १० च १२५० नम्बरको कार चेकजाँच गर्ने क्रममा विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला पारेको दाबी गर्दै चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । सरकारी वकिलको कार्यालयले चैत ११ गते उनीहरूविरुद्ध विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी मुद्दामा अभियोगपत्र दायर गरेको थियो ।

अनुसन्धान र बहस: प्रमाणको अभाव

थुनछेक बहसका क्रममा प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुधीर कर्ण र अधिवक्ता चन्द्रिका पटेलसहितको टोलीले प्रहरी अनुसन्धानमा ठोस प्रमाणको अभाव रहेको जिकिर गरेका थिए । २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्दा पनि उक्त शंकास्पद वस्तु कहाँबाट, कसले र कुन उद्देश्यले गाडीमा राख्यो भन्ने नखुलेकाले घटना सुनियोजित हुन सक्ने आशङ्का अधिवक्ताहरूले व्यक्त गरेका छन् ।

वरिष्ठ अधिवक्ता कर्णले बहसका क्रममा चौधरी पक्राउ परेको स्थानमा मतदान केन्द्र वा मतगणनास्थल नभएकाले निर्वाचनसम्बन्धी कसुर आकर्षित नहुने तर्क राखेका थिए । यद्यपि, अदालतले मुद्दाको गाम्भीर्यतालाई ध्यानमा राख्दै मुख्य अभियुक्तका रूपमा चौधरीलाई थुनामै राखेर कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै