१५ चैत, काठमाडौं । नेकपा एमालेको शनिबारको विरोध प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका सात जनामध्ये ६ जनालाई प्रहरीले रिहा गरेको छ भने एक जनालाई गम्भीर अभियोगमा हिरासतमै राखेर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सामान्य सोधपुछ र छानबिनपछि ६ जनालाई छाडिएको भए तापनि विमल धमला नाम गरेका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा राखेको हो । धमलालाई शनिबारको प्रदर्शनमा सार्वजनिक सवारी साधन तोडफोड गरेको प्रत्यक्ष संलग्नता देखिएकाले तत्काल रिहा नगरेको प्रहरीको भनाइ छ ।
यद्यपि, धमलाको पक्राउले अर्को गम्भीर तथ्य पनि सतहमा ल्याएको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विरुद्ध यसअघि नै दुईवटा बैंकिङ कसुरका मुद्दा दर्ता भई फरार अभियुक्तको सूचीमा रहेको खुलेको छ । प्रदर्शनको क्रममा पक्राउ परेका धमलामाथि अब सवारी तोडफोड र बैंकिङ कसुर गरी दुईवटै पाटोबाट कानुनी प्रक्रिया अगाडि बढाइने भएको छ ।
प्रहरीले उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखेको छ, जसले गर्दा एमालेको प्रदर्शनमा सहभागी भएका एक फरार अभियुक्त फेरि कानुनी फन्दामा परेका छन् ।

















