Logo

१६ चैत, काठमाडौं । वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिशा विकको मृत्यु प्रकरणले नयाँ र गम्भीर मोड लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘एकल जबरजस्ती करणी’ पछि मृत्यु भएको निष्कर्षसहित प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिल कार्यालयले त्यसलाई उल्ट्याउँदै योजनाबद्ध सामूहिक बलात्कारपछि हत्या भएको दाबीका साथ सुर्खेत जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।

फागुन २३ गते जनजागरण सामुदायिक वनमा मृत फेला परेकी इनिशाको हत्यामा उनका प्रेमी भनिएका १६ वर्षीय किशोरसहित पक्राउ परेका अन्य तीन जना साथीहरूको समेत प्रत्यक्ष संलग्नता रहेको सरकारी वकिलको निष्कर्ष छ ।

 के छ अभियोग पत्रमा ? 

सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोग पत्रमा चारै जना किशोरहरूले पूर्वयोजना अनुरूप इनिशालाई जङ्गलमा बोलाएको र सामूहिक रूपमा जबरजस्ती करणी गरेको उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा मृतकको संवेदनशील अङ्ग च्यातिएको, अत्यधिक रक्तश्राव भएको र शरीरका विभिन्न भागमा निलडामहरू देखिएकाले  एक जनाको कृत्य नभई सामूहिक दमनको परिणाम भएको तर्क गरिएको छ।

मुख्य अभियुक्तले बयानका क्रममा इनिशा बेहोस भएपछि अन्य साथीहरूलाई ‘उद्धारका लागि’ बोलाएको दाबी गरे पनि सीसीटीभी फुटेज र अन्य स्वतन्त्र प्रमाणहरूले उनीहरू घटनास्थलमै उपस्थित रहेको तर उद्धारको कुनै प्रयास नगरेको पुष्टि गरेको अभियोग पत्रमा जनाइएको छ ।

यसअघि प्रहरीले २० दिन लामो अनुसन्धानपछि एकल करणीकै कारण अत्यधिक रक्तश्राव भई मृत्यु भएको प्रतिवेदन तयार पारेको थियो । तर, सरकारी वकिल कार्यालयले प्रहरीको उक्त निष्कर्षलाई अपूर्ण ठहर्‍याउँदै १६३ वटा विभिन्न प्रमाण र ३१ जनाको बयानलाई आधार मानेर सामूहिक बलात्कार र कर्तव्य ज्यानको मुद्दा दर्ता गरेको हो ।

उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा प्रयोगात्मक परीक्षा दिन घरबाट निस्किएकै दिन बीभत्स रूपमा मारिएकी थिइन्। अब यो संवेदनशील मुद्दाको सुनुवाइ जिल्ला अदालतको बाल इजलासमा हुनेछ, जसले सुर्खेतसहित देशभरको ध्यान खिचेको छ।


सम्बन्धित समाचार