१६ चैत, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिइएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराउनुभएको छ ।
सोमबार दर्ता गरिएको उक्त उजुरीमा साम्पाङले सुनिता खड्का नामकी एक महिलाले टिकटक जस्तो सार्वजनिक प्लेटफर्मको दुरुपयोग गरी अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको र भौतिक कारबाहीको धम्की दिएको उल्लेख गर्नुभएको छ । उहाँले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की समर्थक भनिएकी ती महिलालाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग समेत गर्नुभएको छ ।
विगत केही समयदेखि सामाजिक सञ्जालमा राजनीतिक विचारकै आधारमा हुने व्यक्तिगत आक्रमण र धम्कीका घटनाहरू बढ्दै गएको सन्दर्भमा साम्पाङको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उजुरीमा साम्पाङले आमसञ्चारका माध्यमबाट खुला रूपमा हिंसा भड्काउने किसिमका अभिव्यक्ति आउनु लोकतान्त्रिक समाजका लागि चुनौती भएको जिकिर गर्नुभएको छ ।
उहाँले राज्यका निकायहरूले यस्ता डिजिटल हिंसा र धम्कीलाई गम्भीरतापूर्वक लिई नागरिकको सुरक्षा र कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभएको छ।
साइबर ब्युरोले उजुरी प्राप्त भएको पुष्टि गर्दै यसबारे प्राविधिक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । पछिल्लो समयमा राजनीतिक नेतृत्व र समर्थकहरूबीच सामाजिक सञ्जालमा चर्किएको वाकयुद्धले कतिपय अवस्थामा कानुनी सीमा नाघ्ने गरेको पाइएको छ ।
यस घटनाले डिजिटल प्लेटफर्ममा व्यक्त गरिने धारणा र त्यसले निम्त्याउन सक्ने कानुनी जटिलताबारे पुनः एकपटक बहस सिर्जना गरेको छ ।

















