Logo

१६ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको बहुचर्चित राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ सोमबार पुनः स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि अन्य उच्च प्राथमिकताका मुद्दाहरूका कारण बेन्च बस्न नसकेपछि सुनुवाइ हुन नसकेको हो । विशेषगरी न्यायाधीश रेग्मी र पोखरेलको छुट्टाछुट्टै एकल इजलासमा पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण रिटमाथि लामो बहस चलेकाले संयुक्त इजलासका लागि समय अभाव भएको अदालत स्रोतले जनाएको छ ।

यो मुद्दाको मुख्य विवाद तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने भनी गरेको निर्णयसँग जोडिएको छ । उक्त निर्णय कानुनविपरीत र दुराग्रहपूर्ण रहेको दाबी गर्दै युवराज पौडेल सफलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेले अमेरिकी नागरिक छँदै नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐनको स्पष्ट उल्लंघन भएको र यसमा आपराधिक मनसाय रहेको जिकिर निवेदकले गर्दै आएका छन् ।

यसअघि सर्वोच्चले तीन पटकसम्म सम्बन्धित फाइल मगाउने आदेश दिइसकेको भए पनि ठोस सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको छैन ।


सम्बन्धित समाचार