१६ चैत, चितवन । भरतपुर महानगरपालिका–७ स्थित विशालचोक टोल विकास संस्थाले देवघाटको नारायणी नदी किनार क्षेत्रमा मलामी तथा श्रद्धालुहरूका लागि बस्न र ओत लाग्न मिल्ने संरचना निर्माण गरी हस्तान्तरण गरेको छ।
संस्थाका सदस्यहरूको स्वैच्छिक आर्थिक सहयोगमा करिब ४० हजार रुपैयाँको लागतमा वाटरप्रुफ छानासहितका दुई वटा फलामका बेन्चहरू निर्माण गरिएका हुन्। चर्को घाम र वर्षाको समयमा देवघाट पुग्ने मलामी तथा भक्तजनहरूलाई ओत लाग्न र सहज रूपमा बस्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो पूर्वाधार तयार पारिएको संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो।
चैत १५ गते आयोजित एक कार्यक्रमका बीच उक्त संरचना देवघाट क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको छ। अध्यक्ष अधिकारीको नेतृत्वमा उपाध्यक्ष सूर्यप्रसाद तिमिल्सिना, सचिव शालिकराम पौडेल, कोषाध्यक्ष दीपा पोख्रेल र सदस्य योगेन्द्र थापाको उपस्थितिमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा। ईश्वरीराज लौडारी र कार्यकारी निर्देशक सदन बराललाई सो संरचना हस्तान्तरण गरिएको हो।
संस्थाका सचिव शालिकराम पौडेलका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत मलामी र श्रद्धालुहरूको सहजताका लागि यो कार्य गरिएको हो। यस्ता साना तर जनपक्षीय पूर्वाधारले धार्मिक तथा पवित्र स्थलको व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास संस्थाले लिएको छ। स्थानीयस्तरबाट गरिएको यो सत्कर्मले देवघाट आउने सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।




















