Logo

१७ चैत, काठमाडौं । न्यायिक इतिहासमा विरलै हुने घटनाको रूपमा उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाले सर्वोच्च अदालतबाट स्थापित बाध्यकारी कानुनी सिद्धान्तलाई चुनौती दिएको भन्दै कारबाहीको माग गरेका हुन् ।

मुख्य विवाद ट्राफिक प्रहरीले सवारी साधनमा लगाउने ‘ह्विल लक’ सँग जोडिएको छ। कानुनले स्पष्ट अधिकार नदिएसम्म कुनै पनि निकायले नागरिकको सम्पत्तिमाथि यस्तो हस्तक्षेप गर्न नपाउने सर्वोच्चको नजिर विपरीत उच्च अदालतले ुस्रोत साधनको अभाव देखाउँदै ह्विल लकलाई वैधानिकता दिएपछि यो कानुनी लडाइँ सुरु भएको हो ।

निवेदक चौधरीले आफ्नो रिटमा संविधानको धारा १२८ (४) को विशेष स्मरण गराएका छन्, जसले सर्वोच्च अदालतको निर्णय सबैका लागि शिरोधार्य हुनुपर्ने व्यवस्था गरेको छ । उच्च अदालतको पछिल्लो फैसलाले केवल न्यायिक त्रुटि मात्र नगरेर सर्वोच्चको गरिमा र कानुनी शासनको उपहास गरेको दाबी निवेदनमा गरिएको छ ।

चैत १८ गतेका लागि तोकिएको यस मुद्दाको पेसीले अब न्यायिक जवाफदेहिताको नयाँ मानक तय गर्ने अपेक्षा गरिएको छ । एकातिर न्यायालयभित्रको यो सैद्धान्तिक टकराव र अर्कोतिर संसद्मा देखिएको रास्वपाको १८२ सिटसहितको उदयले राज्यका हरेक संयन्त्रमा सुधार र परिवर्तनको तीव्र दबाब परिरहेको प्रस्ट पार्छ ।


सम्बन्धित समाचार