१७ चैत, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो व्यस्त अन्तर्राष्ट्रिय गन्तव्य काठमाडौं–दिल्ली–काठमाडौं रुटमा उडान संख्या थप गरेको छ ।
यात्रुहरूको बढ्दो चाप र मागलाई सम्बोधन गर्ने उद्देश्यले निगमले चैत १७ गतेदेखि लागू हुने गरी साप्ताहिक उडानको संख्या बढाएर १० पुर्याएको हो । यसअघि दैनिक एउटा मात्र उडान भइरहेको यो रुटमा अब थप तीनवटा उडान सञ्चालनमा ल्याइएको छ ।
निगमका अनुसार हाल सञ्चालन भइरहेको ‘आरए २१७ः२१८’ उडान नम्बरको नियमित दैनिक सेवाका अतिरिक्त अब ‘आरए २०५/२०६ उडान नम्बरबाट हप्ताको थप तीन दिन जहाज उड्नेछन् । नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिँदै निगमले जारी गरेको प्रेस नोटमा यस विस्तारले दुई देशबीचको कनेक्टिभिटीलाई थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ ।
विशेष गरी पर्यटकीय सिजन र व्यावसायिक प्रयोजनका लागि दिल्ली जाने नेपाली तथा भारतीय यात्रुहरूको सहजताका लागि यो निर्णय लिइएको बुझिएको छ ।
उडान संख्या थपिएसँगै यात्रुहरूले समय छनोटमा थप विकल्प पाउनेछन् भने निगमको व्यापारिक उपस्थितिसमेत बलियो हुने अपेक्षा गरिएको छ । काठमाडौं–दिल्ली रुट निगमको सबैभन्दा बढी आम्दानी हुने र रणनीतिक रूपमा महत्त्वपूर्ण गन्तव्य मानिन्छ ।

















