१७ चैत, काठमाडौं । लगातार दुई दिनको उच्च गिरावटपछि सुस्तिएको सेयर बजारमा मंगलबार उल्लेख्य सुधार देखिएको छ ।
साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ७० अंकले वृद्धि भई २८५१ दशमलव ०९ विन्दुमा पुगेको हो । यसअघि आइतबार ७१ अंक र सोमबार ४७ अंकले ओरालो लागेको बजारले मंगलबार बाउन्स ब्याक गर्दै लगानीकर्तामा उत्साह जगाएको छ ।
बजार बढ्दा कारोबार रकममा पनि चमक देखिएको छ, जहाँ दिनभरिमा ११ अर्ब ११ करोड रुपैयाँ बराबरको २ करोड ७९ लाख कित्ता सेयर किनबेच भएको छ ।
मंगलबारको कारोबारमा कुल १९५ वटा कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ६३ वटाको मूल्य घटेको छ। विशेष गरी पाँचवटा कम्पनीका सेयरधनीले उच्च आम्दानी गरेका छन् । रिलायन्स लाइफ, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रो, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २४ दशमलव ३० देखि ५२।६० रुपैयाँसम्म नाफा कमाएका छन्। अर्कोतर्फ, सप्तकोशी डेभलपमेन्ट बैंक, रिडी पावर र धौलागिरि लघुवित्तका सेयरधनीले भने करिब ९ प्रतिशतसम्मको घाटा व्यहोरेका छन् ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा देखिएको छ, जसको एक्लै ४८ करोड रुपैयाँको सेयर किनबेच भयो । त्यस्तै, अपि पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंकको पनि ३५ करोडदेखि ४० करोड रुपैयाँसम्मको उच्च कारोबार भएको छ ।
समूहगत आधारमा हेर्दा अन्य र म्युचुअल फन्ड बाहेकका सबै उपसमूहका सूचकहरू हरियाली देखिएका छन् । दुई दिनको भारी अंकको गिरावटपछि सम्हालिएको बजारले आगामी दिनमा सकारात्मक दिशा समात्ने अपेक्षामा लगानीकर्ताहरू देखिएका छन् ।

















