१७ चैत,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहुँच र शक्तिको दुरुपयोग गरी सुगम क्षेत्रका सुविधासम्पन्न अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको मूल दरबन्दी भएको अस्पतालमा फिर्ता पठाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको निर्देशनमा देशभरको स्वास्थ्य सेवा सन्तुलित बनाउन तथा दुर्गम र क्षेत्रीय अस्पतालमा देखिएको विशेषज्ञ अभाव हटाउने उद्देश्यसहित पहिलो चरणमा १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरिएको हो।
मन्त्रालयका अनुसार नवौँ र दशौँ तहका ती चिकित्सकहरूलाई डडेल्धुरा अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा रहेको दरबन्दीअनुसार खटाइएको छ।
यसअघि उनीहरू विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित भरतपुर अस्पताल, कोशी अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा विभागजस्ता निकायमा काजमा कार्यरत थिए।
काज फिर्ता गरिएका चिकित्सकहरूमा इ.एन.टी. सर्जन, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट, साइक्याट्रिष्ट, डर्माटोलोजिष्ट, सर्जन, ग्यास्ट्रोइन्टेरोलोजिष्ट, फिजिसियन र मेडिकल ल्याब टेक्नोलोजिष्टलगायतका विशेषज्ञ रहेका छन्।
मन्त्रालयका अनुसार डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशाल कुमार देव, डा. प्रकाश ढकाल र डा. सुशील समदर्शीलाई गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको छ। त्यसैगरी, डा. सन्तोष कुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नविन चन्द्र भट्ट र डा. सुयोग्य वाग्लेलाई डडेल्धुरा अस्पतालमा खटाइएको छ।
यस्तै, डा. सोनिका धरी श्रेष्ठ, संजोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराईलाई नारायणी अस्पतालमा काज फिर्ता गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यो निर्णयले दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ सेवा सुदृढ भई सर्वसाधारणले सहज स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेको छ।


















