Logo

१९ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै परीक्षा नियन्त्रण कार्यालयले तत्कालै उत्तरपुस्तिका परीक्षणको कार्य अघि बढाएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बिहीबार बिहानको परीक्षा सकिएलगत्तै देशका विभिन्न केन्द्रहरूमा उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ । विगतका वर्षहरूमा परीक्षा सकिएको केही समयपछि मात्रै परीक्षण सुरु हुने गरे पनि यसपटक नतिजा छिटो सार्वजनिक गर्ने लक्ष्यका साथ ‘जहाँ परीक्षा, त्यहीँ परीक्षण’ को अवधारणा अनुरूप काम थालिएको हो ।

परीक्षण प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन कार्यालयले विशेष मापदण्ड तय गरेको छ, जसअन्तर्गत कुनै पनि शिक्षकले आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँच्न पाउने छैनन् । एउटा विद्यालयको शिक्षकले अर्को विद्यालयको विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने गरी रोस्टर तयार पारिएको र केन्द्राध्यक्षको प्रत्यक्ष नेतृत्वमा यो काम भइरहेको नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक विषयको परीक्षा सकिएको तीन दिनभित्रै परीक्षण सम्पन्न गर्ने र आगामी एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाइएको छ । यस वर्ष देशभरबाट कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीहरू एसईईमा सहभागी भइरहेका छन् र परीक्षा आगामी चैत २९ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।


सम्बन्धित समाचार