१९ चैत,सेढवा । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गर्ने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा आएको समस्याका कारण पर्सा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू कठिनाइमा परेका छन्।
विद्यालयको शैक्षिक, आर्थिक र भौतिक गतिविधिहरूको सम्पूर्ण विवरण IEMIS मार्फत अद्यावधिक गर्नु पर्ने भए पनि चालु शैक्षिक सत्रको अन्तिम समयमा सरभर काम नगर्दा शिक्षक तथा प्रधानाध्यापकहरूको दैनिक कामकाज प्रभावित भएको छ।
जगरनाथपुर गाउँपालिका वडा नं. ३ स्थित श्री बाबा बैद्यनाथ माध्यमिक विद्यालय, गढैयाका शिक्षक मोहन साहका अनुसार, IEMIS नखुल्दा नियमित काम गर्न समस्या भएको छ। उनले बताए अनुसार, बिहान र बेलुका केही समयका लागि मात्र सरभर चल्दा पनि कार्यालय समयमै काम नहुँदा तनाव बढेको छ।
त्यस्तै, ठोरी गाउँपालिका वडा नं. ५ स्थित साखुवाटी आधारभूत विद्यालय, सुवर्णपुरका प्रधानाध्यापक अमृत श्रेष्ठले भने कि IEMIS मार्फत शिक्षक–कर्मचारीको तलब भत्ता माग, विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र नतिजा प्रकाशन गर्ने जस्ता महत्वपूर्ण काम प्रभावित भएको छ। बिहान–बेलुका मात्र काम गर्दा पनि शिक्षकहरू घरमै हुने भएकाले समन्वय गर्न कठिन भइरहेको उनले बताए।
यता, पटेर्वासुगौली गाउँपालिकाका आईटी तथा शिक्षा अधिकृत सोलेन्द्र पञ्जियारले देशभरका सबै विद्यालय एउटै सरभर प्रयोग गरिरहेका कारण प्रणालीमा समस्या आएको जानकारी दिएका छन्। उनले बताए अनुसार, IEMIS मार्फत नतिजा प्रकाशन, विद्यार्थी स्थानान्तरण, छात्रवृत्ति वितरण र दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएकाले सरभर थप सुदृढ बनाउन आवश्यक रहेको छ।

















