१९ चैत,वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन एकीकृत सेवा प्रणाली लागू गरेको छ। बिहीबारदेखि सुरु गरिएको यस नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीहरूले एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सक्ने भएका छन्।
कार्यालयका अनुसार नयाँ प्रणाली अन्तर्गत सवारी दर्ता, नवीकरण, बिमा, कर भुक्तानी तथा चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा एउटै काउन्टरबाट उपलब्ध हुनेछ। यसले पहिले जस्तो विभिन्न कोठा धाउनुपर्ने झन्झट हटाएको जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले उही दिन बायोमेट्रिक र लिखित परीक्षा दिन सक्नेछन् भने भोलिपल्ट नै प्रयोगात्मक परीक्षा (ट्रायल) सम्पन्न गर्न सकिनेछ। सबै प्रक्रिया पूरा गरेपछि सफल परीक्षार्थीले २४ घण्टाभित्रै लाइसेन्स प्राप्त गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोले सेवा प्रणालीलाई व्यवस्थित बनाउन बिचौलियामार्फत हुने अनियमितता पूर्ण रूपमा निषेध गरिएको बताए। कुनै समस्या परेमा सिधै कार्यालयमा सम्पर्क गर्न उनले सेवाग्राहीलाई आग्रह गरेका छन्।
नयाँ व्यवस्थालाई सेवाग्राहीहरूले सकारात्मक रूपमा लिएका छन्। कतिपयले यसलाई ठूलो राहतको रूपमा लिएका छन् भने केहीले भीड व्यवस्थापन सुधार र जनशक्ति थप गर्नुपर्ने सुझाव दिएका छन्।
मधेस प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको सेवा सुधार अभियान अन्तर्गत लागू गरिएको यो मोडेल सफल भए अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी रहेको जनाइएको छ।

















