Logo

२० चैत, काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा चुनौतीका बीच खाडी क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले आजदेखि विशेष उद्धार उडान सुरु गर्ने भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा सरकारका विभिन्न निकायहरूबीच भएको सघन छलफलपछि यो जीवनरक्षक निर्णय लिइएको हो । गत २८ फेब्रुअरी २०२६ देखि जारी तनावका कारण नियमित उडानहरू ठप्प हुँदा नेपाली श्रमिकहरू समस्यामा परेका थिए, जसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समार्फत आज ३ अप्रिलदेखि आगामी तीन दिनसम्म चारवटा विशेष उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उद्धार कार्यको तालिकाअनुसार आज राति ११ः१५ बजे काठमाडौँबाट दुबईका लागि पहिलो उडान प्रस्थान गर्नेछ भने भोलि अप्रिल ४ तारिखको बिहान ४स्१० बजे दुबईबाट नेपालीहरू बोकेर जहाज स्वदेश फर्कनेछ ।

त्यसैगरी, अप्रिल ५ तारिखमा साउदी अरबको दमामलाई केन्द्रित गरी दुईवटा उडान तय गरिएको छ, जसमा बिहान ८ः३० बजे काठमाडौँबाट जहाज उड्ने र सोही दिन दिउँसो १२ः२० बजे दमामबाट नेपालीहरूलाई लिएर काठमाडौँ अवतरण गर्ने कार्यक्रम छ ।

वैदेशिक रोजगारीका लागि ती क्षेत्रमा रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले चालेको यो कदमले पीडित परिवारहरूमा ठूलो राहत पुर्‍याएको छ ।


सम्बन्धित समाचार