Logo

२० चैत, काठमाडौं । सभामुख चयनको सरगर्मी बढ्दै जाँदा सत्तापक्ष र प्रतिपक्षका प्रमुख दलहरूको रणनीति स्पष्ट हुँदै गएको छ ।

संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवारका रूपमा अघि सारेपछि अन्य दलहरूले यसबारे आ–आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

यसै क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा उम्मेदवारी नदिने र रास्वपाका उम्मेदवार अर्याललाई नै समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसद्मा दुई तिहाइ बहुमतको नजिक रहेको रास्वपाले सभामुख पदमा दाबी गर्नु स्वाभाविक भएको बताउँदै आफ्नो पार्टीले भने उपसभामुख पदमा दाबी गर्ने रणनीति बनाएको खुलाएका छन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसपटक सभामुखको दौडबाट बाहिरिने निर्णय गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार, सत्तापक्षसँग सुविधाजनक बहुमत रहेको र सभामुख पद साझा व्यक्तित्वको हुनुपर्ने लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै पार्टीले उम्मेदवारी नदिने निष्कर्ष निकालेको हो ।

कांग्रेस र नेकपा दुवैले उम्मेदवारी नदिने भएपछि रास्वपाका उम्मेदवार अर्यालको जित थप सुनिश्चित देखिएको छ । तर, नेकपाले उपसभामुखमा आफ्नो दाबी कायम राखेकाले सत्ता साझेदार दलहरूबीच आगामी दिनमा पद बाँडफाँडका विषयमा थप संवाद हुने देखिन्छ ।

पर्ख र हेरमा एमाले

यस बीचमा नेकपा एमालेले भने पर्ख र हेरको मध्यमार्गी नीति अख्तियार गरेको छ । एमाले सांसद ऐन महरले विपक्षी दलहरूका तर्फबाट कसैले उम्मेदवारी दर्ता नगरेको खण्डमा मात्र एमालेले आफ्ना उपाध्यक्ष गुरु बराललाई उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको बताएका छन् ।

यद्यपि, कांग्रेस र नेकपाको पछिल्लो निर्णयले एमालेलाई पनि दबाबमा पारेको छ । संसद्को वर्तमान अंकगणितमा १८२ सिटसहित रास्वपा निकै सुदृढ अवस्थामा रहेकाले सभामुख चयन प्रक्रियामा नयाँ शक्तिको वर्चस्व स्पष्ट रूपमा स्थापित हुने देखिन्छ । आज दिउँसो २ बजेसम्मको मनोनयन दर्ताको समयले नै चुनावी प्रतिस्पर्धाको अन्तिम चित्र प्रस्ट पार्नेछ ।


सम्बन्धित समाचार