Logo

२० चैत,काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासका काम कारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले ‘संवैधानिक इजलास पोर्टल’ सार्वजनिक गरेको छ।

पोर्टलको उद्घाटन गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई सुदृढ र पारदर्शी बनाउन यो महत्वपूर्ण कदम भएको बताइन्। उनले न्यायपालिकामा रहेका पुराना मुद्दाहरूको फर्छ्योटलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन्।

उनका अनुसार संवैधानिक इजलासमा हाल २८२ वटा मुद्दा विचाराधीन छन्, जसमा २०७४ सालदेखिका करिब ८ वर्ष पुराना मुद्दासमेत बाँकी रहेका छन्।

कायममुकायम प्रधानन्यायाधीश मल्लले भविष्यमा अनलाइन रजिस्ट्रेशन, भर्चुअल सुनुवाइ, अनलाइन भुक्तानी तथा घरमै बसेर फैसला डाउनलोड गर्न सकिने व्यवस्था गर्ने लक्ष्य रहेको जानकारी दिइन्।

अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले पोर्टलमार्फत न्यायपालिकालाई प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

नयाँ पोर्टलमा संवैधानिक इजलाससँग सम्बन्धित आदेश, फैसलाका विवरण, प्रक्रियागत जानकारी, इजलासमा रहने न्यायाधीशहरूको विवरण तथा सम्बन्धित ऐन–कानूनहरू समावेश गरिएका छन्। यसले कानून व्यवसायी, अनुसन्धानकर्ता, कर्मचारी तथा सेवाग्राहीका लागि अध्ययन र अनुसन्धानको महत्वपूर्ण स्रोतका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै