Logo

२० चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा दुई ठूला सहकारीका सञ्चालक र व्यवस्थापकहरू प्रहरीको फन्दामा परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष ६१ वर्षीय इमानसिंह राईसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा प्रमुख कार्यकारी अधिकृतद्वय लालबहादुर क्षेत्री र अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्णबहादुर राई रहेका छन् ।

यो सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढी बचत रहेकोमा १ अर्ब ४९ करोड मात्र लगानी देखिएको र बाँकी रकमको कुनै विवरण नभेटिएको प्रहरीले जनाएको छ । कमसल धितो वा बिना धितो ऋण प्रवाह गरी रकम हिनामिना गरेको अभियोगमा उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको छ ।

यसैबीच, कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रवीन बिष्ट पनि काठमाडौँबाटै पक्राउ परेका छन्। पाँचथर घर भएका ४१ वर्षीय बिष्टलाई साढे ५ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयकै टोलीले नियन्त्रणमा लिएको हो। उनीमाथि थप कानुनी कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

गौतमश्री सहकारीका सञ्चालकहरू फरार रहेको र १,१४५ जनाभन्दा बढी बचतकर्ताले डेढ अर्बभन्दा बढीको दाबीसहित उजुरी दिएपछि प्रहरीले सक्रियता बढाएको हो। एकै दिन दुई ठूला सहकारीका जिम्मेवार व्यक्तिहरू पक्राउ परेसँगै बचतकर्ताहरूमा आफ्नो निक्षेप फिर्ता हुने आशा पलाएको छ ।


सम्बन्धित समाचार