२१ चैत, काठमाडौं । पोखरा महानगरपालिकाले फेवाताल क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत तालछेउमा बनाइएका टहराहरू भत्काउन सुरु गरेको छ।
शनिबार बिहानदेखि महानगरपालिकाले डोजर प्रयोग गरी फेवाताल आसपासका अवैध संरचनाहरू हटाउने कार्य अघि बढाएको हो। महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार हालसम्म ३२ वटा टहराहरू भत्काइसकिएको छ।
उनले नेपाल प्रहरीको सहयोगमा अभियान सञ्चालन भइरहेको जानकारी दिँदै फेवाताल क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने लक्ष्य रहेको बताए।
यसअघि नवगठित संघीय सरकारले पनि फेवातालमा भएको अतिक्रमण हटाउने काम तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरेको १०० कार्यसूचीमा फेवाताल अतिक्रमण हटाउने विषयलाई प्राथमिकतामा राखेको थियो।
महानगरपालिकाको यो कदमलाई ताल संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण पहलको रूपमा हेरिएको छ।

















