चैत २२ गते बिहानको समय—झिसमिसे उज्यालोसँगै गैंडाकोट नगरपालिका–५ स्थित त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्राङ्गणमा उत्साह र अपेक्षाको मिश्रित माहोल देखिन्थ्यो। करिब बिहान साढे ५ बजे नै म सहकारी परिसरमा पुग्दा भ्रमणमा सहभागी हुने सदस्यहरू क्रमशः भेला भइसकेका थिए। अनुहारमा उत्सुकता, मनमा नयाँ अनुभवको चाहना—सबैमा एउटै ऊर्जा झल्किरहेको थियो ।
भ्रमण सुरु हुनु अघि संस्थाका कार्यवाहक अध्यक्ष शंकर आचार्यले सम्पूर्ण सहभागीहरूलाई एकत्रित गर्दै छोटो तर अत्यन्त महत्वपूर्ण अभिमुखीकरण दिनुभयो। उहाँले भ्रमणको दूरी, बाटोको अवस्था, खानपानको व्यवस्था, यात्राका क्रममा पालना गर्नुपर्ने अनुशासन, सिक्नुपर्ने विषयवस्तु र समग्र यात्राबाट लिनुपर्ने अनुभवबारे स्पष्ट र प्रेरणादायी रूपमा जानकारी गराए । ती शब्दहरूले यात्रालाई केवल घुमफिरमा सीमित नराखी सिकाइ र अनुभूतिको अवसरका रूपमा ग्रहण गर्न प्रेरित गर्यो ।
त्यसपछि औपचारिक विदाइसँगै बिहान करिब ६ बजेतिर यात्रा सुरु भयो। गैंडाकोटबाट अगाडि बढ्दै गर्दा यो यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने यात्रा थिएन, यो मन, भावना, सम्बन्ध र अनुभूतिको यात्रा थियो—जसले फर्किएपछि पनि भित्र कतै निरन्तर बगिरहन्छ ।
यो भ्रमणमा म सञ्चारकर्मीको हैसियतले सहभागी भएको थिएँ। आदरणीय दाजु शंकर आचार्यको आग्रहले मलाई यस यात्रासँग जोड्यो। वास्तवमा त्यो दिन अन्य कार्यक्रमहरू पनि थिए, जिम्मेवारीहरू पनि थिए, तर नजानिँदो रूपमा मन यही यात्रातर्फ तानियो । सायद यो केवल निम्तो संगै, एउटा अनुभवतर्फको आह्वान थियो।
सुरुवातमा सबैजना एक–अर्कासँग औपचारिकजस्तै देखिनु स्वाभाविक थियो ।

नयाँ अनुहारहरू, फरक पृष्ठभूमि, अलग-अलग उमेर समूह—तर केही समयमै त्यो दूरी आफैं घट्दै गयो । इच्छाकामना हुँदै मुग्लिङतर्फ अगाडि बढ्दा बाटोका घुम्तीहरू, उकालो–ओरालो र त्रिशूली नदीसँगै बगिरहेको सडकले यात्रालाई दृश्यात्मक रूपमा जीवन्त बनाइरहेको थियो। गाडीभित्रको हाँसो, गीत र कुराकानीले यात्रालाई निरन्तर रमाइलो बनाइरहेको थियो ।
तनहुँको चुनपहरामा छोटो विश्रामपछि यात्रा अझ सहज बन्दै गयो। चिया–नास्ताले मात्र होइन, आपसी संवादले पनि सम्बन्धहरू नजिकिँदै गए। म बसेको गाडी—बा ३ ख ८३९४ नम्बरको थियो । गाडी भित्र रहेका सबै जना मेरो लागि एउटा चलायमान परिवार लागो । करिब ३३ जना सवारमध्ये केही पुरुष साथीहरू र धेरैजसो महिला दिदीबहिनीहरू हुनुहुन्थ्यो । के
हीबेरमै गाडी हाँसो, गीत र आत्मीयताले भरिएको एउटा सजीव संसारमा परिणत भयो। इन्दिरा खनाल सापकोटा, सीतामाया आचार्य, सावित्री शर्मा, लक्ष्मी कुमारी धिताल, सुस्मिता अधिकारी, सीता गुरुङ, बिमला अधिकारी, शान्ति कुवर, बबिता अधिकारी लगायत सबैको सक्रियता र ऊर्जा उल्लेखनीय थियो ।
चेपे नदी पार गर्दै टोली राइनासतर्फ उक्लियो । हरियालीले ढाकिएका डाँडाहरू, भिरालो बाटाहरू र खुला आकाशले यात्रालाई गहिरो अनुभूतितर्फ डोर्याइरहेका थिए ।
राइनास सामुदायिक होमस्टेमा पुग्दा त्यहाँको वातावरणले मनलाई तुरुन्तै छोयो । स्थानीय परिकारको स्वाद, गाउँलेपनको सरलता र त्यहाँका मानिसहरूको आत्मीय व्यवहारले आफूलाई आफ्नै घरमा भएको अनुभूति गरायो । २०७२ सालको भूकम्पपछि सुरु गरिएको यो होमस्टे अहिले समुदायको आत्मनिर्भर यात्राको प्रेरणादायी उदाहरण बनेको रहेछ भन्ने कुरा बुझ्न पाइयो ।
त्यसपछि राइनासकोट पुग्दा देखिएको दृश्यले मन नै स्थिर बनायो। डाँडाकाँडाभरि फुलेको लालीगुराँस, हल्का चिसो हावा र टाढासम्म फैलिएको हरियाली—त्यो दृश्य साँच्चै अद्भुत थियो। त्यहाँ उभिँदा जीवनको दौडधूपबाट केही क्षण टाढा बसेर आफूलाई आफैंसँग भेट्ने अवसर पाएजस्तो अनुभूति भयो ।
शिव, कालिका र थानीमाई मन्दिरहरू, पुराना दरबारका अवशेष र वीर भक्त थापाको सालिकले त्यो भूमिको ऐतिहासिक गौरव झल्काइरहेका थिए। त्यो माटोमा उभिँदा पुर्खाहरूको साहस र बलिदानप्रति गर्व जाग्थ्यो।
दिउँसोको स्वादिलो खाना र आत्मीय आतिथ्यपछि फर्किने यात्रा सुरु भयो। यही फर्कने क्रममा गाडीभित्र फेरि गीत, हाँसो र रमाइलो चलिरहँदा मेरो मनमा एउटा नयाँ सोच विस्तारै अंकुराउन थाल्यो। दिदीबहिनीहरूले सामूहिक रूपमा गीत गाउने, एकअर्कालाई साथ दिने र मिलेर रमाउने दृश्यले मलाई गहिरो रूपमा छोयो।
म सोचिरहेँ—यदि हामी पनि यस्तै सहकार्य र आत्मीयतामा आधारित भएर कुनै सामुदायिक होमस्टे सञ्चालन गर्न सक्यौं भने, हाम्रो आफ्नै ठाउँमा पनि पर्यटनमार्फत आय–आर्जनका नयाँ ढोका खोल्न सकिन्थ्यो ।
सहकारीमार्फत यस्ता पहलहरूलाई अझ संगठित र दिगो बनाउन सकिने सम्भावना स्पष्ट देखियो। त्यो विचार केवल कल्पना जस्तो थिएन, सम्भावनाको एउटा बलियो आधार जस्तो महसुस भइरहेको थियो। फर्कने क्रममा शरीर गैंडाकोटतर्फ आइरहेको थियो, तर मन अझै राइनासकोटको डाँडामा, लालीगुराँसको बीचमा अल्झिएको थियो ।
अन्ततः, म त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडप्रति हृदयदेखि आभारी छु। यस भ्रमणले मलाई केवल एक कार्यक्रममा सहभागी बनाएको छैन, एउटा परिवारको सदस्य बनाएको छ। तपाईंहरूको आत्मीयता, माया र सद्भाव मेरो जीवनको लागि सधैं अविस्मरणीय रहनेछ।
यो यात्रा केवल भौगोलिक दूरीको यात्रा थिएन, यो मेरो आँखाले देखेको, मनले महसुस गरेको र आत्माले सँगालेको एक जीवन्त कथा हो—जसको स्मृति सधैं मेरो हृदयमा रहिरहनेछ।

















