Logo

२२ चैत, काठमाडौं । मुलुकभित्र बढ्दै गएको आपराधिक गतिविधि, बिचौलियाको बिगबिगी र सार्वजनिक स्थानमा हुने अभद्र व्यवहारलाई निरुत्साहित गर्न नेपाल प्रहरीले चलाएको ‘विशेष खोजी’ अभियानले अपराधीहरूको सातो उडाएको छ ।

प्रहरी प्रधान कार्यालयको विशेष निर्देशनपछि देशभरका युनिटहरूले चलाएको यो आक्रामक अपरेसनका क्रममा पछिल्लो चार दिनमै २२६ जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याइएको छ । चैत १८ गतेदेखि सुरु भएको यो अभियानले विशेष गरी काठमाडौं उपत्यका र मोफसलका प्रमुख सहरहरूमा सक्रिय रहेका संगठित गिरोह र सरकारी कार्यालयहरूमा सास्ती दिने बिचौलियाहरूलाई निशाना बनाएको देखिन्छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यो अभियानको सुरुवाती दिन अर्थात् १८ गते नै काठमाडौं उपत्यका र कोशी प्रदेशबाट गरी ६९ जनालाई नियन्त्रणमा लिइएको थियो । प्रहरीको सक्रियता यतिमा मात्र सिमित रहेन, १९ गते मधेसदेखि कर्णालीसम्मका विभिन्न जिल्लाबाट ४४ जना थपिए भने २० गते लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि प्रहरीको फन्दामा अभियुक्तहरू पर्न थाले ।

विशेष गरी चैत २१ गते काठमाडौं उपत्यकामा प्रहरीले ठूलो सफलता हात पार्दै एकैदिन ६२ जनालाई पक्राउ गरेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको सन्देश दिएको छ । पक्राउ पर्नेहरूको सूचीमा समाजमा डर पैदा गर्ने गुण्डागर्दीमा संलग्न व्यक्तिहरूदेखि लिएर मालपोत र यातायात कार्यालयमा सर्वसाधारणलाई सास्ती दिने बिचौलियाहरू समेत रहेका छन् ।

प्रहरीको यो अभियान केवल पक्राउमा मात्र सीमित नभई नागरिकलाई सुरक्षित महसुस गराउने र सरकारी सेवालाई झन्झटमुक्त बनाउने उद्देश्यमा केन्द्रित रहेको प्रवक्ता काफ्लेले स्पष्ट पार्नुभएको छ । सार्वजनिक स्थलमा हुने अभद्र व्यवहार र अराजकतालाई शून्य सहनशीलताको नीति अपनाउँदै प्रहरीले आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ ।

हाल पक्राउ परेका सबैमाथि आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अगाडि बढाइसकिएको छ। प्रहरीले यो विशेष अभियान तत्काल नरोकिने र अझै सूक्ष्म रूपमा देशभर सञ्चालन गरिने चेतावनी दिएको छ, जसले समाजमा जरो गाडेर बसेका बेथिति र अपराध न्यूनिकरणमा ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार