२२ चैत, काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई सन्तुलनमा राख्न केन्द्रीय बैंकले बजारबाट ठूलो परिमाणमा रकम उठाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार चैत २२ गते ५६ दिनको समयावधि रहने गरी ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्दै बजारको तरलता व्यवस्थापनमा नयाँ कदम चालेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएपछि त्यसको समुचित व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि राष्ट्र बैंकले यो अल्पकालीन उपकरण प्रयोगमा ल्याएको हो ।
आइतबार दिउँसो ३ बजेसम्म चल्ने अनलाइन बिडिङमार्फत ुकु, ुखु र ुगु वर्गका बैंक तथा वित्तीय संस्थाहरूले यस बोलकबोल प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
बजारको माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने यो उपकरणमा सहभागी हुन चाहने बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि कुल निष्कासन रकमको सीमासम्म बोलकबोल गर्न सक्ने व्यवस्था मिलाइएको छ । राष्ट्र बैंकले निक्षेप संकलन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्ने नीति लिएको छ, जसले गर्दा बजारको वास्तविक ब्याजदर प्रतिबिम्बित हुने अपेक्षा गरिएको छ । यसरी संकलन गरिएको रकमको साँवा र ब्याज भुक्तानी आगामी जेठ १७ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
यो प्रक्रियाबाट खिचिएको रकमलाई बैंकहरूले आफ्नो अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपात कायम गर्न भने उपयोग गर्न पाउनेछन् ।
यसले एकातिर बैंकहरूको निष्क्रिय रहेको पुँजीलाई सुरक्षित लगानीको अवसर दिनेछ भने अर्कोतिर बजारमा मुद्राको चापलाई नियन्त्रण गरी समग्र आर्थिक सन्तुलन कायम राख्न मद्दत पुग्ने देखिन्छ । लगानीका क्षेत्रहरू सुस्त भइरहेको वर्तमान अवस्थामा केन्द्रीय बैंकको यो कदमले वित्तीय बजारमा सन्तुलित तरलता कायम गर्ने विश्वास गरिएको छ ।

















