Logo

 २२ चैत,काठमाडौं ।  इरानको आणविक ऊर्जा संगठन ले बुशेहर आणविक ऊर्जा केन्द्र वरिपरि पुनः आक्रमण भएको जनाएको छ। जारी द्वन्द्वका क्रममा यो चौथो आक्रमण भएको बताइएको छ।

संस्थाका अनुसार आक्रमणमा केन्द्रमा कार्यरत एक सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणका लागि इरानले संयुक्त राज्य अमेरिकाइजरायल लाई दोष दिएको भए पनि दुवै देशले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।

प्रारम्भिक अनुसन्धानअनुसार प्लान्टका मुख्य संरचनामा ठूलो क्षति नपुगेको र सञ्चालनमा तत्काल असर नपरेको जनाइएको छ। यद्यपि, त्यहाँ रहेको रेडियोधर्मी पदार्थमा क्षति पुगेमा ठूलो आणविक दुर्घटना हुन सक्ने भन्दै चेतावनी दिइएको छ।

बुशेहर आणविक ऊर्जा केन्द्र इरानको एकमात्र सञ्चालनमा रहेको आणविक ऊर्जा केन्द्र हो, जुन रुस को सहयोगमा निर्माण गरिएको हो।

यसैबीच, रुसी सरकारी स्वामित्वको आणविक कम्पनी रोसाटोम का प्रमुख एलेक्सी लिखाचेभका अनुसार सुरक्षाको कारण देखाउँदै अधिकांश रुसी कर्मचारीलाई केन्द्रबाट फिर्ता बोलाइएको छ। करिब २०० जना कर्मचारीको अन्तिम निकासी प्रक्रिया अर्को सातासम्म पूरा हुने जनाइएको छ।

इरानको आणविक कार्यक्रम लामो समयदेखि अन्तर्राष्ट्रिय विवादको विषय बन्दै आएको छ, जसका कारण विभिन्न प्रतिबन्धहरू पनि लगाइएका छन्।

अमेरिका, इजरायलइरान बीचको हालको द्वन्द्व फेब्रुअरी २८ देखि जारी रहेको छ, जसले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।


सम्बन्धित समाचार