Logo

२२ चैत ,चितवन । भरतपुर–११ स्थित नारायणी इङ्ग्लिश पब्लिक स्कूलमा सञ्चालन भएको ५१औँ जुनियर डिभिजन एनसीसी तालिममा उत्कृष्ट प्रदर्शन गर्ने क्याडेट छात्र–छात्राहरूलाई सम्मान गरिएको छ।

२०८२ चैत २१ गते आयोजित कार्यक्रममा नयाँ सबुझ गण, भरतपुर–चितवनका गणपति प्रमुख सेनानी सुदीप कुमार तमाङले उत्कृष्ट क्याडेटहरूलाई सम्मान प्रदान गर्नुभयो। कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

२१ दिने क्लोज क्याम्पअन्तर्गत सञ्चालन गरिएको तालिममा क्याडेटहरूले सार्वजनिक भाषणतर्फ प्रथम र द्वितीय स्थान तथा सांस्कृतिक कार्यक्रमअन्तर्गत नृत्यतर्फ प्रथम स्थान हासिल गरेका थिए। साथै, छात्र फुटबल प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्दै समग्रतामा पनि उल्लेखनीय प्रदर्शन गरेका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वेदराज न्यौपानेले एनसीसी तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, समय व्यवस्थापन तथा विपद् व्यवस्थापनजस्ता सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।

भरतपुर महानगरपालिका–११ मा अवस्थित विद्यालय पछिल्लो समय सुविधा सम्पन्न नयाँ भवन निर्माणतर्फ अघि बढिरहेको छ। कार्यक्रममा क्याडेटहरूलाई तालिमबाट आर्जन गरेका सीप व्यवहारमा उतार्दै उज्ज्वल भविष्यतर्फ अग्रसर हुन शुभकामना व्यक्त गर्दै समापन गरिएको थियो।


सम्बन्धित समाचार