२३ चैत, काठमाडौं । पोखराको फेवाताल किनारमा रहेको अतिक्रमित जग्गाको विषयमा विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले आफू नै जग्गाधनीबाट ठगिएको सनसनीपूर्ण खुलासा गर्नुभएको छ । ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालनका लागि अन्य दुई साझेदारसहित लिजमा लिएको जग्गा तालको ६५ मिटरको मापदण्डभित्र परेको तथ्य बाहिरिएपछि गृहमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो ।
जग्गाधनीले लालपूर्जा देखाउँदै उक्त क्षेत्र मापदण्ड बाहिर रहेको भनी झुक्याएर सम्झौता गराएको दाबी गर्दै मन्त्री गुरुङले आफूहरूलाई अँध्यारोमा राखेर लगानी गर्न उक्साइएको बताउनुभएको छ । महानगरले अतिक्रमित संरचना हटाउने अभियान तीव्र पारेसँगै यो विषयले राजनीतिक र कानुनी वृत्तमा नयाँ तरंग पैदा गरेको छ ।
फेवातालको मापदण्ड मिचेर बनाइएको संरचनामा नाम जोडिएपछि गृहमन्त्री सुधन गुरुङले आफू नै जग्गाधनीबाट ठगिएको दाबी गर्नुभएको छ ।ज ग्गाधनीले ६५ मिटरको मापदण्डभित्र नपर्ने र लालपूर्जा सुरक्षित रहेको भन्दै झुक्याएर ‘एड्भेन्चर स्पोर्ट्स’का लागि आफूहरूलाई जग्गा लिजमा दिएको मन्त्रीको भनाइ छ।
जग्गाको वास्तविक स्थितिबारे जानकारी पाउनेबित्तिकै आफूहरूले निर्माण कार्य र थप लगानी तुरुन्तै रोकेको उल्लेख गर्दै मन्त्री गुरुङले अब न्यायका लागि अदालतको ढोका ढकढक्याउने उद्घोष गर्नुभएको छ । जग्गाधनीले तथ्य लुकाएर आफूहरूमाथि अन्याय गरेको ठहर गर्दै उहाँले ठगीविरुद्ध कानुनी उपचार खोज्ने दृढता व्यक्त गर्नुभएको हो ।
मुलुकको सुरक्षा प्रशासन सम्हाल्ने व्यक्तिकै नाम यसरी विवादमा मुछिएपछि उहाँले आफ्नो बचाउमा दिएको यो ‘ठगिएको’ तर्क र कानुनी लडाइँको घोषणालाई आम नागरिकले निकै चासोका साथ नियालिरहेका छन् । अब यो मुद्दा अदालत पुगेपछि जग्गाधनी र मन्त्रीबीचको यो ‘लिज विवाद’ ले कुन मोड लिने हो, त्यो भने हेर्न बाँकी नै छ ।

















