Logo

२३ चैत, काठमाडौं । संघीय संसद्को वर्तमान संरचनामा नयाँ शक्ति र युवा अनुहारहरूको वर्चस्व बढिरहेका बेला पुराना अनुभवी नेताहरूले उनीहरूलाई कसरी परिपक्व मार्गदर्शन दिन सक्छन् भन्ने एउटा सकारात्मक दृश्य सोमबार प्रधानमन्त्री निवासमा देखिएको छ ।

लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आयोजना गर्नुभएको छलफलमा अनुभवी राजनीतिज्ञ एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकका केही ुगेम चेन्जरु आयोजनाहरूका बारेमा प्रधानमन्त्रीलाई स्पष्ट रोडम्याप सुझाउनुभयो ।

नयाँ नेतृत्वको काम गर्ने शैलीलाई पुरानाको अनुभवले डोर्‍याउन सकेमा मात्रै विकासले सही गति लिने सन्देश दिँदै पुनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि भारतसँग हवाई रुटको कूटनीतिक संवाद थाल्न र विमानस्थलमा श्रम डेस्क राख्न प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण गराउनुभयो ।

पछिल्लो समय संसदीय राजनीतिमा नयाँ र युवा पुस्ताले प्रभाव जमाइरहँदा वर्षमान पुनले प्रस्तुत गरेका योजनाहरूले राज्य सञ्चालनमा अनुभवको महत्त्वलाई पुनः पुष्टि गरेका छन् ।

उहाँले दाङको कोइलाबासदेखि रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने रणनीतिक महत्त्वको शहीद मार्ग र रोल्पास्थित माडी बहुउद्देश्यीय जलविद्युत आयोजना जस्ता पूर्वाधारमा बजेट व्यवस्था गर्न माग गर्नुभयो ।

विशेषगरी आफू अर्थमन्त्री हुँदा अघि सारेको र वर्तमान सरकारले संशोधन गरेको गण्डकी आर्थिक त्रिभुज परियोजनाको खाका प्रस्तुत गर्दै पुनले भरतपुर, बुटवल र पोखरालाई तीन कोणमा राखी नयाँ आर्थिक केन्द्र विकास गर्ने भिजन बालेनलाई बुझाउनुभएको छ ।

यसरी संसद्मा नयाँ पुस्ताको बाक्लो उपस्थितिका बीच वर्षमान जस्ता पुराना खेलाडीले विकासका जटिल र राष्ट्रिय महत्त्वका मुद्दाहरूमा देखाएको यो तत्परताले नयाँ नेतृत्वलाई परम्परागत शैलीभन्दा माथि उठेर दीर्घकालीन सोचका साथ काम गर्न प्रेरित गरेको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै