Logo

२३ चैत,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले तालिमी (इन्टर्न) श्रमिकका रूपमा कार्यरत व्यक्तिहरूलाई कानुनबमोजिम पारिश्रमिक र सुविधा उपलब्ध गराउन रोजगारदाताहरूलाई आग्रह गरेको छ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालय तथा अन्य प्रतिष्ठानहरूमा कार्यरत तालिमी श्रमिकहरूले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा नपाएको गुनासो बढ्दै गएको जनाएको छ।

श्रम ऐन २०७४ को दफा १८ उपदफा (३) अनुसार तालिमी श्रमिकलाई कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चय कोष तथा बीमा लगायतका सुविधा उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

तर, स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक तथा कर्मचारीलगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूले तोकिएको सुविधा नपाएको भन्दै मन्त्रालयमा उजुरी परेको उल्लेख गरिएको छ।

मन्त्रालयले यस्ता गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै रोजगारदातालाई प्रचलित कानुनअनुसार न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न चेतावनी दिएको छ।

कानुनविपरीत श्रमिकलाई सुविधा नदिएको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्दै मन्त्रालयले सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालालाई कानुनको स्वस्फूर्त पालना गर्न अपिल गरेको छ।


सम्बन्धित समाचार
भर्खरै