Logo

२४ चैत, काठमाडौँ । सरकारले राजनीतिक भागबण्डाका आधारमा विभिन्न मुलुकमा नियुक्त गरिएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित राजदूतावासहरूलाई पत्राचार गरी एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिएको हो ।

फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् । यी सबै राजदूतहरूलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक कोटामा नियुक्त गरेको थियो ।

सरकार परिवर्तनसँगै राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने शृङ्खलाले यसपटक पनि निरन्तरता पाएको छ । यसअघि पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको गैरदलीय अन्तरिम सरकारले गत असोज ३० गते एकैपटक ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो । त्यतिबेला चीन, अमेरिका, बेलायत, जापान र इजरायल लगायतका देशमा कार्यरत राजनीतिक नियुक्तिका राजदूतहरूलाई फिर्ता गरिएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार फिर्ता बोलाइएका राजदूतहरूको ठाउँमा नयाँ नियुक्तिको प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । कुटनैतिक मर्यादा र कार्यसम्पादनमा प्रश्न नउठे पनि सत्ता समीकरण र राजनीतिक सन्तुलन मिलाउन सरकारले यस्तो कदम चालेको बुझिएको छ । एक महिनाको समयसीमा भित्र उनीहरूले आफ्नो कार्यकालको जिम्मेवारी हस्तान्तरण गरी राजधानी आइपुग्नु पर्नेछ ।


सम्बन्धित समाचार