२४ चैत, काठमाडौँ । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा भव्य ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको सहयोगमा आगामी चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने यस महोत्सवबारे सोमबार वराहक्षेत्र–ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिइएको हो ।
सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्ने लक्ष्य राखेको महोत्सवका अध्यक्ष अङ्गत राईले जानकारी दिए ।
महोत्सवका सहसंयोजक भविश श्रेष्ठका अनुसार तीन दिने कार्यक्रममा पर्यटकहरूका लागि विविध गतिविधि समेटिएका छन्। कार्यक्रम अवधिभर कोशी टप्पु वन्यजन्तु आरक्षमा चरा तथा वन्यजन्तु अवलोकन, प्रसिद्ध रामधुनी मन्दिर दर्शन र बोराबाँधमा सूर्यास्तको दृश्यावलोकन गराइनेछ। साँझको समयमा स्थानीय मौलिकता झल्किने लाखे नाच र धान नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ।
महोत्सवको अन्तिम दिन चैत २७ गते पर्यटकहरूलाई प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरको दर्शन गराई जलयात्रा (र्याफ्टिङ), जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुद जस्ता साहसिक गतिविधिमा सहभागी गराइनेछ।
महोत्सवमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत र तेस्रो मुलुकका पर्यटक तथा विशिष्ट अतिथिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकहरूका लागि स्थानीय अर्गानिक परिकारको स्वाद लिने विशेष व्यवस्था मिलाइएको छ।
पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले कोशी किनारको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। यस कार्यक्रमले कोशी प्रदेशको समग्र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने आयोजकको दाबी छ।

















