Logo

२४ चैत,काठमाडौं । सशस्त्र प्रहरीमाथि कुटपिट गरेको आरोपमा शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि उपाध्यक्ष चौधरीलाई सोमबार नियन्त्रणमा लिइएको हो। प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले घटनापछि आरोपितलाई हिरासतमा राखी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

प्रहरीका अनुसार उपाध्यक्षका भाइको जेसीबी नियन्त्रणमा लिएको विषयलाई लिएर विवाद सुरु भएको थियो। शुद्धोदन गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको चेकपोस्टमा जेसीबीका सामग्री ल्याउँदै गर्दा प्रहरीले रोकेपछि विवाद चर्किएको स्थानीयले बताएका छन्।

विवादकै क्रममा उपाध्यक्ष चौधरीले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेको आरोप छ। घटनास्थल सशस्त्र प्रहरीको नियन्त्रण क्षेत्रभित्र पर्ने चेकपोस्ट रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै