२४ चैत, काठमाडौं । पर्साको वीरगन्जस्थित प्रतिष्ठित व्यवसायिक घरानाद्वारा सञ्चालित ‘स्काईलाईन इन्फ्रा’ लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो कूल पूँजीको २० प्रतिशत अर्थात् ३५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गर्दै आगामी वैशाख ११ गतेका लागि विशेष साधारण सभा आह्वान गरेको हो ।
वीरगन्जको आदर्शनगरमा रहेको होटल सरोवरमा बस्ने सभाले प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने, शेयर निष्कासनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र प्रिमियम मूल्यमा शेयर जारी गर्ने जस्ता महत्त्वपूर्ण एजेन्डाहरू पारित गर्नेछ । कम्पनीका सचिव अंसुल अग्रवालका अनुसार चैत १५ को सञ्चालक समिति बैठकले उक्त सभाको मिति र स्थान तय गरेको हो ।
होटलदेखि व्यापारिक मलसम्मको लगानी
वीरगन्ज–१० मा अवस्थित चारतारे ‘होटल सरोवर’ सञ्चालन गरिरहेको यस कम्पनीको लगानीमा विविधता रहेको छ । कम्पनीले हाल होटलका साथै क्यूएफएक्स सिनेमा हल, क्यासिनो, बैंकुट र व्यवसायिक कम्प्लेक्ससहितको ‘स्काईलाइन मल’ सञ्चालन गरिरहेको छ । १ लाख २० हजार वर्ग फिटमा फैलिएको ९ तले व्यवसायिक भवन यस कम्पनीको मुख्य आकर्षणको रूपमा रहेको छ, जहाँबाट कम्पनीले बहुआयामिक आय आर्जन गरिरहेको छ।
वित्तीय अवस्था र पूँजी संरचना
२०८० साउनदेखि लिमिटेड कम्पनीमा रूपान्तरण भएको यस कम्पनीको वित्तीय अवस्था बलियो देखिएको छ । कम्पनीले विगत २ वर्षदेखि लगातार मुनाफा आर्जन गरिरहेको छ भने यसको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा माथि रहेको छ ।
हाल २ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको जारी तथा चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । जसमध्ये ८० प्रतिशत अर्थात १ करोड ४० लाख कित्ता संस्थापक शेयरधनीहरूको स्वामित्व छ भने बाँकी २० प्रतिशत अर्थात ३५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
नेपाल धितोपत्र बोर्डले तोकेको मापदण्ड पूरा गरी आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको यस कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्ने प्रस्ताव गरेको छ । यसले कम्पनीको वित्तीय जग अझ मजबुत बनाउने र लगानीकर्ताहरूका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।

















