२४ चैत, काठमाडौं । मुलुकको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त हुनुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैंकका कार्यकारी निर्देशक पण्डितलाई विशिष्ट श्रेणीको उक्त जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार अर्थ मन्त्रालयको सिफारिस र प्रस्तावका आधारमा पण्डितलाई डेपुटी गभर्नर पदमा नियुक्त गरिएको हो ।
नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त रहेकामा सरकारले हाल एक जनाको मात्रै टुङ्गो लगाएको छ । वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गर्नुभएका पण्डितसँग दुई दशक लामो बैंकिङ अनुभव रहेको छ ।
उहाँले बैंकका विभिन्न महत्त्वपूर्ण विभागहरूमा कार्यकारी निर्देशकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँको यो नियुक्तिले केन्द्रीय बैंकको नीतिगत र प्रशासनिक कार्यसम्पादनमा थप व्यावसायिकता आउने अपेक्षा गरिएको छ ।
लामो समयको रिक्ततापछि भएको यो नियुक्तिले बैंकको नेतृत्व तहमा रहेको रिक्ततालाई केही हदसम्म कम गरेको छ । बाँकी एक रिक्त डेपुटी गभर्नर पदमा भने सरकारले छिट्टै अर्को निर्णय लिने बुझिएको छ । डेपुटी गभर्नरका रूपमा पण्डितले अब गभर्नरलाई बैंकको मौद्रिक नीति कार्यान्वयन र वित्तीय स्थायित्व कायम राख्ने कार्यमा प्रत्यक्ष सहयोग पुर्याउनुहुनेछ ।

















