२४ चैत, काठमाडौं । मुलुकमा पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै सरकारले कडा कदम चाल्ने संकेत गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आवश्यक परेको खण्डमा सवारी साधनमा पुनः ‘जोर–बिजोर’ प्रणाली लागू गर्न सकिने जानकारी दिनुभएको हो । ऊर्जा बचत र आपूर्ति व्यवस्थापनलाई सन्तुलनमा राख्न सरकारले यस्तो तयारी गरेको हो ।
मन्त्री रावलका अनुसार सरकारले ऊर्जा बचतका लागि गृहकार्य सुरु गरिसकेको छ । जसअन्तर्गत थोक बिक्रीमा नियन्त्रण र उच्च पदस्थ अधिकारीहरूको इन्धन कोटामा समेत कटौती गरिसकिएको छ । ‘अवस्था जटिल बन्दै गए जोर(बिजोर प्रणाली लागू गर्न सरकार हिचकिचाउने छैन,’ उहाँले भन्नुभयो ।
साथै, सरकारले निजी क्षेत्र र सर्वसाधारणलाई सम्भव भएसम्म ‘वर्क फ्रम होम’ (घरबाटै काम गर्ने) संस्कृति अपनाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउन समेत विशेष आह्वान गरेको छ ।
दीर्घकालीन समाधानका लागि सरकारले सवारी साधनको इन्धन प्रणालीमा रूपान्तरण गर्ने कानुनी प्रक्रिया अघि बढाएको छ। यसका लागि ‘इथानोल नीति’ तयार भइरहेको र विद्युतीय सवारी पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध रहेको मन्त्री रावलले स्पष्ट पार्नुभयो ।
‘सरकार पारदर्शी छ र जनताको पीडा बुझ्छ, त्यसैले सत्य लुकाउँदैन,’ भन्दै उहाँले वर्तमान संकटपूर्ण घडीमा सबैलाई संयमित बन्न र ऊर्जा बचतमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

















