२४ चैत,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार बिरुवागुठीस्थित एक खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार गौरे कटेज खाजा पसलबाट सोमबार जुवातास खेल्दै गरेको अवस्थामा चार जना जुवाडे र होटल सञ्चालकलाई नियन्त्रणमा लिइएको हो। उक्त पसल दिलमाया तामाङले सञ्चालन गर्दै आएकी थिइन्।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–३का ५७ वर्षीय वीरेन्द्र साह, सोही वडाका शीशीर तामाङ, वडा नम्बर ४ का ४० वर्षीय सुरेन्द्र चौधरी, होटल सञ्चालक दिलमाया तामाङ तथा वीरगन्ज महानगरपालिका–३१का २७ वर्षीय अरबिन्द गौरो रहेका छन्।
उनीहरूको साथबाट तीन सेट तास र नगद १५ हजार ५५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेकाविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न नहुने सम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

















