२५ चैत, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकभर मापदण्डविपरीत र अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
गत वर्षको विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको स्थलगत अनुगमन र निरीक्षणका क्रममा उनले यस्तो कडा निर्देशन दिनुभएको हुन् । रोशी खोला क्षेत्रमा गिट्टी-बालुवाको अनियन्त्रित उत्खननले गर्दा नै बाढीपहिरोको प्रकोप बढेको र यसले जनधनको ठूलो क्षति पुर्याएको भन्दै उनले गम्भीर चासो व्यक्त गरे ।
निरीक्षणका क्रममा मन्त्री गुरुङले विगतमा राजनीतिक दलहरूले ठेक्कापट्टामा ‘सेटिङ’ मिलाएर क्रसर उद्योगहरूलाई अवैध रूपमा सञ्चालन गर्ने वातावरण बनाइदिएको आरोप लगाए ।
प्राकृतिक स्रोतको चरम दोहन हुँदा समेत रोकथाममा कसैले तदारुकता नदेखाएकामा असन्तुष्टि पोख्दै उनले भने, “अब यस्ता गतिविधि म कडाइका साथ रोक्छु। हाल सञ्चालनमा रहेका उद्योगहरू वैध हुन् वा अवैध, तत्कालै छानबिनको दायरामा ल्याइनेछ ।” पनौतीको रोशीखोला क्षेत्रमा हाल दर्जनौं क्रसर तथा खानी उद्योगहरू सञ्चालनमा रहेका छन्, जसले गर्दा सो क्षेत्र प्राकृतिक जोखिमको उच्च जोखिममा रहेको छ ।
गत वर्ष असोज दोस्रो साता आएको भीषण बाढीपहिरोले पनौती नगरमा मात्रै एक विदेशी नागरिकसहित २० जनाको ज्यान लिएको थियो भने एक जना अझै बेपत्ता छन्। नगरको तथ्यांकअनुसार सो प्रकोपबाट ५८६ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ९४४ घरहरू अझै पनि उच्च जोखिममा रहेका छन् ।
गृहमन्त्री गुरुङले प्राकृतिक स्रोतको जथाभावी दोहन नै यस्ता विपत्तिको मुख्य कारक भएको दाबी गर्दै भविष्यमा हुने क्षति न्यूनीकरणका लागि कानुनी मापदण्ड पालना गराउन सरकार निर्मम भएर लाग्ने स्पष्ट पारे ।

















