Logo

२५ चैत, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मुलुकका अधिकांश भागमा मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बदली भई पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहनेछ भने बाँकी भूभागमा पनि सामान्यदेखि साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै, मधेस प्रदेश लगायत कोशी र बागमतीको तराई क्षेत्रका केही स्थानमा पनि फाटफुट वर्षाको सम्भावना छ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले हिमाली क्षेत्रमा आवतजावत गर्नेहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ। मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेकोले सुरक्षित रहन महाशाखाले सूचित गरेको छ।

मौसमविद्हरूका अनुसार आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको क्रम जारी रहने देखिएको छ। तराईका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले कृषि, यातायात र दैनिक जनजीवनमा पर्न सक्ने प्रभावप्रति सचेत रहन आग्रह गरेको छ।


सम्बन्धित समाचार