२५ चैत, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजेका लागि आह्वान गरिएको छ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ। यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्ने तयारी छ। अर्थमन्त्री वाग्लेले उक्त विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेपछि विधेयकलाई सदनसमक्ष औपचारिक रूपमा प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभाको आजकै बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन तथा मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम समेत रहेको छ।
यता, राष्ट्रियसभाको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। दुवै सदनमा आज महत्त्वपूर्ण प्रतिवेदनहरू र नयाँ विधेयकमाथि छलफल तथा प्रस्तुति हुने भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

















