२५ चैत्र, चितवन। माडी नगरस्तरीय आधारभुत तह परीक्षा (कक्षा ८) को नतिजा अनुसार माडीका विभिन्न विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन्।
सामुदायिक विद्यालयतर्फ, जनजीवन माध्यमिक विद्यालय खरकट्टाले सर्वाधिक ९४.४४ प्रतिशत विद्यार्थी पास गराएर पहिलो स्थान हासिल गरेको छ। जनजीवनमा कुल ३६ जना विद्यार्थी सहभागी भएकोमा ३४ जना उत्तीर्ण भएका छन्। दोस्रो स्थान खैरहनी माध्यमिक विद्यालयले ८७.५० प्रतिशत सफलता दरका साथ हासिल गरेको छ, जहाँ कुल २४ विद्यार्थीमध्ये २१ जना उत्तीर्ण भएका छन्।
संस्थागत विद्यालयतर्फ, विद्याज्योति इङ्गलिस स्कूलले ९३.५५ प्रतिशत सफलता दरसहित पहिलो स्थान प्राप्त गरेको छ। विद्याज्योति इङ्गलिस स्कूलमा कुल ३१ विद्यार्थीमध्ये २९ जना उत्तीर्ण भएका छन्। दोस्रो स्थान पिसल्याण्ड इङ्गलिस स्कूलले ८६.६७ प्रतिशत नतिजासहित हासिल गरेको छ, जहाँ १५ विद्यार्थीमध्ये १३ जना उत्तीर्ण भएका छन्।
नतिजाले माडीका विद्यालयहरूमा शैक्षिक गुणस्तरको राम्रो संकेत दिएको विश्लेषकहरूले बताएका छन्।




















