२६ चैत, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो पहिलो विदेश भ्रमणका क्रममा आज मौरिससतर्फ प्रस्थान गर्दै छन् । मौरिससमा यही चैत २७ देखि २९ गतेसम्म आयोजना हुने ‘नवौँ इन्डियन ओसियन कन्फ्रेन्स’ (हिन्द महासागर सम्मेलन) मा नेपालको प्रतिनिधित्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त सम्मेलनमा नेपालको गरिमामय सहभागिताका लागि प्राप्त निमन्त्रणा स्वीकार गर्दै मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता सुनिश्चित गरिएको हो । मन्त्रालयले यस भ्रमणका लागि आवश्यक सबै कूटनीतिक तयारीहरू पूरा भएको जनाएको छ ।
भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस उच्चस्तरीय सम्मेलनमा क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य र हिन्द महासागर क्षेत्रको साझा चासोका विषयमा छलफल हुनेछ । सम्मेलनमा भारतका विदेशमन्त्री एस जयशंकरलगायत विभिन्न राष्ट्रका विदेशमन्त्री तथा उच्च अधिकारीहरूको सहभागिता रहने कार्यतालिका छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरका साथै अन्य सहभागी मुलुकका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना रहेको छ। मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण भएकाले यसलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । क्षेत्रीय मञ्चहरूमा नेपालको उपस्थिति बलियो बनाउन र अन्य मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनाउन यो भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।

















