२६ चैत, काठमाडौं । राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको घटनाक्रममा अन्ततः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक प्रहरी हिरासतबाट बाहिरिएका छन् ।
सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको रायपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई ‘खोजेका बखत उपस्थित हुने’ सर्तमा हाजिर जमानीमा रिहा गरेको हो । गत चैत १४ गते फौजदारी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका यी दुई शीर्ष नेताहरूलाई काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी हिरासतमा राखिएको थियो ।
दुबै जनालाई श्रीमतीको जिम्मामा छाडियो
हिरासतमुक्त हुने क्रममा एमाले अध्यक्ष ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ भने कांग्रेस नेता लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको छ । पक्राउ परेदेखि नै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराइरहेका ओलीको हकमा कागजी प्रक्रिया पूरा भए पनि उनको डिस्चार्ज हुन बाकी छ । अर्कातर्फ, महाराजगन्जस्थित नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका लेखक भने रिहाइ प्रक्रियापछि गणबाट बाहिरिएका छन् ।
यो रिहाइको जग सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले तयार पारेको हो । बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले अनुसन्धान प्रक्रिया जारी राख्न थुनामै राख्नु अनिवार्य नरहेको र फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम प्रक्रिया पुर्याएर बाहिरैबाट अनुसन्धान अघि बढाउन बाटो खोलिदिएको थियो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ र २४ को घटनामा दोषी ठहर गर्दै फौजदारी अनुसन्धानका लागि गरेको सिफारिसका आधारमा उनीहरू पक्राउ परेका थिए। अदालतको पछिल्लो आदेशले व्यक्तिगत स्वतन्त्रता र अनुसन्धानको सन्तुलनलाई ध्यानमा राख्दै अनुसन्धान नसकिएसम्मका लागि उनीहरूलाई नागरिक हैसियतमा रहन अनुमति दिएको छ ।
प्रहरीले अदालतको तेस्रो म्याद बुधबार सकिएलगत्तै थप म्याद नलिई उनीहरूलाई छाड्ने प्रक्रिया अघि बढाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, उनीहरू अहिले हिरासतमुक्त भए पनि मुद्दाको किनारा भने लागिसकेको छैन । सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय नगरेसम्म उनीहरूले प्रहरीको सम्पर्कमा रहिरहनुपर्नेछ ।

















