२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई जना महिला सांसदहरू चुनावी मैदानमा उत्रिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले बिहीबार आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। राप्रपाले आफ्नै सांसदहरूको समर्थनमा एकल उम्मेदवारी दिएको छ भने श्रम संस्कृति पार्टीकी ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेपछि चुनावी समीकरण रोचक बनेको छ ।
सरस्वती लामाको प्रस्तावकमा ज्ञानेन्द्र शाही र समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि रहेका छन् । अर्कोतर्फ, रुबीको प्रस्तावकमा उनकै पार्टीका सांसद आरेन राई र समर्थकमा रास्वपाका सांसद अशोककुमार चौधरी रहेका छन् ।
यस निर्वाचनमा २५ वर्षीया रुबी कुमारी ठाकुरको जित लगभग निश्चित देखिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुई तिहाइको बहुमत रहेको रास्वपाले ठाकुरलाई समर्थन गर्ने आधिकारिक निर्णय गरेसँगै गणितीय रूपमा उनी निकै बलियो अवस्थामा पुगेकी हुन् ।
रास्वपाले आफ्नै उम्मेदवार नउठाई साना दलकी युवा उम्मेदवारलाई सघाउने रणनीति लिएपछि संसद् भित्रको चुनावी माहोलले नयाँ मोड लिएको छ । यदि यो समीकरणमा कुनै नाटकीय परिवर्तन नभए रुबी कुमारी नेपालकै कान्छी उपसभामुख बन्ने बाटो खुलेको छ ।
संसद् सचिवालयले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ । विपक्षी दलहरूले संवैधानिक मर्म र शक्ति सन्तुलनका लागि उपसभामुख प्रतिपक्षलाई छोड्नुपर्ने दबाब दिइरहेका बेला रास्वपाले साना दलसँग गरेको यो सहकार्यले विपक्षी मोर्चालाई थप रक्षात्मक बनाएको छ ।
राप्रपाले भने आफ्नो उम्मेदवारीमार्फत संसद्मा आफ्नो छुट्टै पहिचान र एजेन्डा स्थापित गर्ने प्रयास जारी राखेको छ । भोलिको मतदानले नै संसद्को आगामी नेतृत्व र दलहरूबीचको शक्ति सन्तुलनलाई अन्तिम रूप दिनेछ ।

















