Logo

 २६ चैत,काठमाडौं । हरिद्वारबाट नेपालतर्फ आउँदै गरेको ‘नेपाल–भारत मैत्री सेवा’ को बस आज बिहान करिब २ बजे भारतको उत्तराखण्डस्थित गदरपुर नजिकै दुर्घटनामा परेको छ।

युके १००५३ नम्बरको उक्त बस गोपालनगर टी-जंक्सन नजिकै अनियन्त्रित भई सडकबाट तल खेतमा खसेर पल्टिएको हो। बसमा चालक दलका सदस्यसहित ६५ जना सवार रहेका थिए, जसमा अधिकांश यात्रु नेपालका दाङ जिल्लाका रहेको जनाइएको छ।

प्रारम्भिक अनुमानअनुसार दुर्घटनाको समयमा वर्षा भइरहेको र चालकलाई निद्रा लागेका कारण बस अनियन्त्रित भएको हुनसक्ने बताइएको छ। बस पल्टिएपछि यात्रुहरूबीच अफरातफरी मच्चिएको थियो भने धेरै यात्रु भित्रै फसेका थिए।

गदरपुर कोतवालीका प्रहरी प्रमुख सञ्जय पाठकका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी र आपतकालीन सेवा (११२ र १०८ एम्बुलेन्स) घटनास्थलमा पुगेका थिए। स्थानीय बासिन्दाको सहयोगमा बसको झ्याल फुटाएर फसेका यात्रुहरूको उद्धार गरिएको थियो।

दुर्घटनामा परी ९ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेहरूमा नव्या नामकी एक महिने बालिकासमेत रहेको बताइएको छ। गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि रुद्रपुरस्थित ठूलो अस्पतालमा रिफर गरिएको छ भने अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि अन्य यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ। बस सञ्चालकलाई जानकारी गराइसकिएको र यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन अर्को बसको व्यवस्था गरिँदैछ।

राजमार्ग अधिकारीहरूले क्रेनको सहयोगमा दुर्घटनाग्रस्त बस हटाइसकेका छन् र हाल यातायात सुचारु रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार