२७ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो भीडभाड र त्यसले निम्त्याएको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नागरिक उड्डयन कार्यालयले पुनः कडा सूचना जारी गरेको छ ।
वैदेशिक रोजगारी वा अध्ययनका लागि जाने एकजना यात्रुलाई बिदाइ गर्न परिवार र आफन्त गरी १० जनासम्म पुग्ने परम्पराले विमानस्थलको आन्तरिक व्यवस्थापन नै अस्तव्यस्त बनेपछि प्रशासनले अब एक यात्रु बराबर बढीमा तीन जना मात्र आउन पाउने सीमा तोकेको हो । पटक–पटक यस्तो आग्रह गर्दा पनि भीड नियन्त्रण नभएपछि विमानस्थल व्यवस्थापनले यसपटक थप कडाइका साथ यो नियम कार्यान्वयन गर्न लागेको बुझिएको छ ।
विमानस्थल प्रशासनका अनुसार अनावश्यक भीडभाडका कारण स्वदेशी तथा विदेशी यात्रुहरूको आवागमनमा गम्भीर अवरोध सिर्जना भएको छ । विशेषगरी अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको क्षेत्रमा मानिसहरूको चाप अत्याधिक हुँदा आकस्मिक सुरक्षा जाँच र व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।
‘बिदाइ गर्न आउनेहरूको भीडले वास्तविक यात्रुहरूले सास्ती खेप्नुपरेको छ, त्यसैले हामीले यो व्यवस्थालाई अनिवार्य पालना गर्न अनुरोध गरेका हौँ,’ विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो नियमले यात्रुहरूलाई छिटोछरितो सेवा लिन र सुरक्षाकर्मीहरूलाई पनि निगरानी बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
नयाँ वर्ष र चाडबाडको समयमा विमानस्थलमा यात्रुको चाप अझ बढ्ने भएकाले यो समयमा कम आफन्त आएर सहयोग गरिदिन विमानस्थलले विशेष अपिल गरेको छ। बिदाइको भावनात्मक क्षणलाई सम्मान गर्दै तर प्राविधिक र सुरक्षा पक्षलाई प्राथमिकतामा राखेर यस्तो निर्णय लिइएको प्रशासनको भनाइ छ ।
यदि यो सूचनाको पालना नगरिएमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै थप कडा कदम चाल्न बाध्य हुनेसमेत संकेत गरिएको छ । यस कदमले त्रिभुवन विमानस्थलको छवि सुधार्न र हवाई यात्रालाई थप सहज बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

















