Logo

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई नातावाद र कृपावादबाट टाढै रहन कडा निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले शक्ति र पहुँचको दुरुपयोग गरेर आफ्ना आफन्त वा साथीभाइलाई नियुक्ति दिलाउने खेलमा नलाग्न सचेत गराउनुभएको हो । पार्टीका मन्त्री र सांसदहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्ताको भरोसालाई कुठाराघात नगर्न चेतावनी समेत दिनुभयो ।

बैठकमा विशेष गरी जेनजी पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै लामिछानेले रास्वपा आज जुन स्थानमा छ, त्यो युवाहरूको उर्जा र परिवर्तनप्रतिको चाहनाकै प्रतिफल भएको उल्लेख गर्नुभयो । ‘हामी यी भाइबहिनीको बलिदान र आशाका कारण यहाँसम्म आइपुगेका हौँ, त्यसैले हाम्रो हरेक कदम उनीहरूको भविष्यप्रति उत्तरदायी हुनुपर्छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै एक सांसदले जानकारी दिए । सत्ताको बागडोर सम्हाल्दा पुरानै दलहरूको जस्तो आफन्त व्यवस्थापनको रोग रास्वपामा देखिनु नहुने उहाँको स्पष्ट अडान थियो ।

संसदीय दलको उक्त बैठकमा दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पनि उपस्थिति रहेको थियो, यद्यपि उहाँले बैठकभरि कुनै धारणा नराखी मौन रहनुभएको बुझिएको छ ।

सोही बैठकले आजै हुने उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरको पक्षमा मतदान गर्ने आधिकारिक निर्णय समेत गरेको छ । रास्वपाले आफूलाई परिवर्तनको संवाहक दाबी गरिरहेका बेला सभापति लामिछानेको यो ‘आन्तरिक सुशासन’ सम्बन्धी निर्देशनलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार