२७ चैत, काठमाडौँ । पश्चिम एसियामा भड्किएको युद्ध र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अप्रत्याशित उछालका कारण नेपाल आयल निगम चरम वित्तीय संकटको भुमरीमा फसेको छ ।
निगमले शुक्रबार एक सार्वजनिक अपिल जारी गर्दै हालको अवस्थामा पेट्रोलियम पदार्थको खपतमा व्यापक कटौती नगरिए र मूल्य समायोजनलाई अझै प्रभावकारी नबनाइए इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ । निगमका अनुसार पछिल्लो समय दैनिक ९३ करोड रुपैयाँ घाटा बेहोरिरहनु परेपछि मुलुकको इन्धन आपूर्ति शृङ्खला नै कुनै पनि समय अवरुद्ध हुन सक्ने जोखिम बढेको हो ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिँदा समेत विश्व बजारमा तेलको भाउ निरन्तर बढ्दा त्यसको प्रभाव न्यून देखिएको छ । यही बाध्यात्मक परिस्थितिका कारण चैत २६ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ र डिजेलमा २५ रुपैयाँसम्म मूल्य वृद्धि गरिएको भए तापनि निगमलाई अझै पाक्षिक रूपमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । निगमले आगामी २३ अप्रिलको किस्ताबापत १६ अर्ब ३७ करोड रुपैयाँ आईओसीलाई बुझाउनुपर्ने चुनौती रहेको र सो रकम व्यवस्थापन गर्न कठिन भइरहेको जनाएको छ ।
छिमेकी मुलुकहरू श्रीलंका, पाकिस्तान र बंगलादेशले इन्धन संकट टार्न कोटा प्रणाली र जोर–बिजोर जस्ता कठोर कदम चालेको स्मरण गराउँदै निगमले नेपाली उपभोक्तालाई पनि इन्धनको प्रयोगमा चरम मितव्ययिता अपनाउन आग्रह गरेको छ । ‘एक बाइक र एक गाडी चालकले प्रतिदिन मात्र एक लिटर इन्धन बचत गर्न सकेमा १५ दिनमा ३९० करोड रुपैयाँ जोगिने’ तथ्याङ्क प्रस्तुत गर्दै निगमले अनावश्यक सवारी साधनको प्रयोग नगर्न अपिल गरेको छ ।
पूर्णतः परनिर्भर रहेको इन्धन क्षेत्रमा सिर्जित यो असहज परिस्थितिलाई सामना गर्न खपत घटाउनु नै अहिलेको अन्तिम र निर्विकल्प उपाय भएको निगमको निष्कर्ष छ ।

















