२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पदको निर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कडा आक्रोश व्यक्त गर्नुभएको छ ।
रास्वपाकै प्रस्ताव र आग्रहमा आफूहरूले उपसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गरेर राजनीतिक धोका दिएको शाहीको दाबी छ । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले रास्वपाको पछिल्लो कदमले नयाँ भनिएका शक्तिहरू पनि अन्ततः पुराना दलहरूकै कित्तामा उभिएको प्रमाणित गरेको टिप्पणी गर्नुभयो ।
शाहीका अनुसार उपसभामुख पद राप्रपाका लागि मुख्य प्राथमिकताको विषय नभए पनि संसद्को एक प्रमुख शक्तिले प्रस्ताव गरेपछि परिवर्तनका पक्षधरहरूबीच ध्रुवीकरण हुने आशले उम्मेदवारी दिने टुङ्गोमा पुगिएको थियो । एकातिर पुराना दलहरूले आफूहरूलाई पाखा लगाएर छलफल चलाइरहेको र अर्कोतिर नयाँ भनिएको शक्तिले नै प्रस्ताव राखेपछि सहकार्यको हात बढाएको भए पनि अन्ततः ती सबै शक्तिहरू एउटै स्वार्थमा गाँसिएको उहाँको बुझाइ छ ।
‘साइनबोर्ड फरक भए पनि अहिलेका नयाँ र पुराना भनिएका दलहरूको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको आज प्रष्ट भयो,’ शाहीले व्यङ्ग्य गर्दै भन्नुभयो ।
उपसभामुखको यो निर्वाचनले नेपाली राजनीतिमा राष्ट्रवादी कित्ता र विदेशीको गोटी बन्नेहरूबीचको रेखा प्रष्ट पारेको शाहीको जिकिर छ । सहयोग गर्ने वचन दिएर अन्तिममा धोका दिने रास्वपाको शैलीले राजनीतिमा ‘किट्ता क्लियर’ गरिदिएको भन्दै उहाँले अब राप्रपा आफ्नो ढङ्गले अगाडि बढ्ने सङ्केत गर्नुभयो ।
याँ शक्तिको रूपमा उदाएको रास्वपा र स्थापित पुराना दलहरू सत्ता स्वार्थमा एकै ठाउँमा उभिनुले जनताले खोजेको वास्तविक परिवर्तनमाथि नै प्रश्नचिन्ह खडा गरेको उहाँले बताउनुभयो ।

















