२७ चैत,काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन्। सरकारको निर्णयपछि फिर्ता बोलाइएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका उनले बुधबार राजीनामा दिएका हुन्, जसलाई बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका छन्।
पूर्व प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सम्बन्धित राजदूतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि फिर्ता बोलाइएका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा वैकल्पिक कार्यकक्षको व्यवस्था गरी हाजिर गराइएको थियो। डा. रुपाखेती पनि सोही क्रममा मन्त्रालयमा उपस्थित हुँदै आएका थिए।
राजीनामा पत्रमा उनले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै कानुन पालन गर्ने नागरिकका रूपमा मन्त्रालयमा हाजिर भएको उल्लेख गरेका छन्। साथै, मन्त्रालयमा हाजिर भएको अवधिमा कुनै तलब वा सुविधा नलिएको पनि स्पष्ट पारेका छन्।