Logo

२८ चैत, काठमाडौँ । सपनाको गन्तव्य मानिने अमेरिकामा भविष्य खोज्न पुगेका नेपालीहरूका लागि ह्वाइट हाउसको पछिल्लो आप्रवासन नीति निकै कठोर बन्न थालेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै आप्रवासीहरूमाथि सुरु भएको क्र्याकडाउनको प्रत्यक्ष मारमा फेरि ३५ जना नेपाली परेका छन्। अमेरिकाले उनीहरूलाई एकैपटक चार्टर विमानमार्फत काठमाडौँ फर्काइदिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरी घिमिरेका अनुसार, गत ७ अप्रिल (चैत २४ गते) ती नेपालीहरूलाई विशेष विमानमार्फत नेपाल ओरालिएको हो। डिपोर्ट हुनेहरूमा विभिन्न बाटो र प्रक्रियाबाट अमेरिका पुगेका व्यक्तिहरू रहेका छन्। जसमध्ये १२ जना अवैध बाटो (मेक्सिको लगायतका सिमाना) प्रयोग गरी अमेरिका छिरेका थिए भने दुई जना विद्यार्थी भिसामा गएका युवाहरू रहेका छन्।

मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले दिएको जानकारी अनुसार, बाँकी अन्य व्यक्तिहरूलाई अमेरिकाको विभिन्न कानुन र नियम उल्लंघन गरेको आरोपमा डिपोर्ट गरिएको हो। पछिल्लो समय अमेरिकाले आप्रवासीहरूमाथि शून्य सहनशीलताको नीति अपनाउँदै भिसा अवधि सकिएर बसेका, चालचलन राम्रो नभएका र प्रक्रिया पूरा नगरेकाहरूलाई कडा निगरानीमा राखेर आफ्नै देश फर्काउने अभियान नै चलाएको छ।

विगत दुई महिनाको तथ्यांक हेर्ने हो भने अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या भयावह देखिन्छ। यस अवधिमा मात्रै २०० भन्दा बढी नेपालीहरूलाई अमेरिकाले फिर्ता पठाइसकेको छ। कतिपय देशका नागरिकहरूलाई त हतकडी र नेल लगाएरै विमान चढाउने गरेका दृश्यहरू सार्वजनिक भइरहेका बेला नेपालीहरूको यो सामूहिक फिर्तीले डिभी वा भिसा नभई अवैध रूपमा बस्नेहरूका लागि अमेरिका अब सुरक्षित नरहेको संकेत गरेको छ।

ट्रम्प प्रशासनको दोस्रो इनिङ्स सुरु भएयता आप्रवासी विरुद्धको अभियान झन् आक्रामक बनेको छ। नियन्त्रणमा लिइएकाहरूलाई कानुनी प्रतिरक्षाको मौका समेत नदिई सिधै आफ्नै देशको विमानस्थलमा पुर्‍याइदिने अमेरिकी शैलीले अहिले त्यहाँ रहेका अन्य कागजविहीन नेपालीहरूमा समेत त्रास पैदा गरिदिएको छ।


सम्बन्धित समाचार