२८ चैत,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले आत्मरक्षाका लागि चलाएको गोली लागेर एउटा वयस्क पोथी गैँडाको मृत्यु भएको छ। निकुञ्जभित्र नियमित गस्तीमा रहेको टोलीमाथि गैँडाले अचानक आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, नयाँ गोरख गणअन्तर्गत सेरी सेक्युरिटी पोस्टबाट खटिएको सेनाको टोली बिहीबार दिउँसो १ बजेतिर निकुञ्जको कोर क्षेत्रमा गस्ती गरिरहेको थियो। सोही क्रममा बच्चासहितको एक वयस्क पोथी गैँडाले टोलीमाथि आक्रमण गरेको थियो।
सुरुमा गैँडालाई भगाउन सेनाले १४ राउन्ड हवाई फायर गरेको भए पनि गैँडा पछि नहटी उल्टै सैनिक जवानमाथि जाइलागेको थियो। गैँडाले एक सैनिक जवानलाई कुल्चेर गम्भीर घाइते बनाएपछि उनको ज्यान जोगाउन र आत्मरक्षाका लागि थप २ राउन्ड गोली चलाइएको निकुञ्ज कार्यालयले बताएको छ। गोली लागेको केही समयमै करिब २४ वर्षकी पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको थियो।
घाइते सैनिकको अवस्था
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका सैनिक जवानलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको छ। हाल उनको महाराजगञ्जस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
गैँडाको पोस्टमार्टम गर्दा गोली पेटभन्दा माथिको करङमा लागेर फोक्सो छेडिएको पाइएको छ। गैँडाको खाग र खुर सुरक्षित रहेको र निकुञ्ज कार्यालयमा राखिएको प्रशासनले जानकारी दिएको छ।
निकुञ्ज प्रशासनले यस घटनालाई बाध्यात्मक र दुर्भाग्यपूर्ण भनेको छ। वन्यजन्तु संरक्षणका क्रममा कहिलेकाहीँ यस्ता मानवीय र वन्यजन्तुको क्षति हुने जोखिम रहने भन्दै यसबारे थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।

















