Logo

२८ चैत, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि छेडखानी भए सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ।

शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले वर्तमान सरकारका गतिविधिमाथि आफ्नो पार्टीले सूक्ष्म निगरानी गरिरहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारले रचनात्मक काम गरेमा आफूहरूको सकारात्मक सहयोग रहने स्पष्ट पार्नुभयो। यदि यो संविधानभित्र रहेर सरकारले रचनात्मक र सकारात्मक काम गर्छ भने हामी त्यसलाई सकारात्मक ढङ्गले नै हेर्छौं, उहाँले भन्नुभयो, तर संविधानमाथि छेडखानी हुन थाल्यो, राष्ट्रिय हितमा आँच आयो वा जनताको हक अधिकार खोस्ने प्रयत्न भए हामी चुप लागेर बस्दैनौँ।

विशेष गरी सरकारले विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि प्रश्न उठाउन खोजेको भन्दै उहाँले कार्यकर्ताहरूलाई सतर्क रहन आग्रह गर्नुभयो। जनताले ठूलो त्याग र बलिदानबाट प्राप्त गरेका जनवर्गीय अधिकारहरूमाथि कुनै पनि किसिमको छेडखानी नगरियोस् उहाँको चेतावनी थियो।

संविधान संशोधनको चर्चाबारे बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरू संशोधनको विरोधी नभएको तर त्यो संशोधन प्रतिगामी हुन नहुने बताउनुभयो। संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्छ, उहाँले भन्नुभयो, अधिकार खोस्न वा संघीयता कमजोर पार्न गरिने संशोधनमा हाम्रो सहयोग रहँदैन।

हालै सम्पन्न निर्वाचनको परिणामलाई असामान्य संज्ञा दिँदै प्रचण्डले यसबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको जानकारी दिनुभयो। उहाँले केही दिनभित्रै पार्टी एकीकरणको प्रक्रियालाई तल्लो तहसम्म टुङ्ग्याउने र ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

निर्वाचन परिणामले केही फरक मोड लिए पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै उहाँले आत्मसमीक्षासहित पुनः जनताको बीचमा जान कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो।


सम्बन्धित समाचार